काठमाण्डौ । अमेरिकाको न्यूयोर्क सहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ६ यात्रुको मृत्यु भएको छ ।
हेलिकप्टरमा एक परिवार पर्यटक रहेको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । न्यूयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै पाँच जनाको परिवार स्पेनको रहेको र छैटौं व्यक्ति पाइलट भएको जानकारी दिए ।
न्यूयोर्कका प्रहरी आयुक्त जेसिका टिशले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइन् । मृतकका परिवारलाई जानकारी नभएसम्म पीडितको परिचय नखुल्ने जनाइएको छ ।
उक्त दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा खसेको देखिन्छ । हेलिकप्टर म्यानहट्टनको हेलीपोर्टबाट उडेको थियो।