काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त गरेका छन् । शाहले आज एक भिडियो सन्देश जारी गर्दै देशको वर्तमान आर्थिक अवस्था आफ्नो चिन्ताको विषय भएको बताएका हुन् ।
‘रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो, उनले भने, ‘नागरिक पलायनसागै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धीमुलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली नेपालीबीच द्वन्द्व नहोस् ।’
यस्तै, उनले अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहेको बताए । ‘त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ’ उनले भने । उनले युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको औंल्याए । ‘सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन,’ उनले भने,‘ आफ्ना ज्ञान, सीप र सामथ्र्य मात्रै होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्नेछ भन्ने भावना सबैमा जागृत गराउनुपर्नेछ । प्रकृतिले दिएको स्वर्गजस्तै दिएको सुन्दर हिमवत खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क, स्वदेशर्म स्वर्ग भन्ने अभियान चलाउने आजको आवश्यकता भएको छ ।’
यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको बताए ।
‘स्वदेशी स्रोत साधनको प्रयोगले स्वदशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गर्नुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गार्हो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवाशक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ, उनले भने ।