काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा २.७५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आजसम्म कम्पनीको आईपीओमा ४९ हजार ७९२ वटा आवेदन परेको छ ।
सिडिएससीका अनुसार कम्पनीको आईपीओमा १० करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको १० लाख ९३ हजार ९८० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले गत वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु।१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीको सेयर निष्कासन बन्द वैशाख २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी सेयर बाँडफाँड भईसकेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।