काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविराम र युद्धको अन्त्यका लागि ‘तुरुन्त’ वार्ता सुरु गर्ने बताएका छन्। ट्रम्पले ट्रुथमा सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेको जानकारी दिएका छन् । ट्रम्पका अनुसार पुटिनसँगको उनको कुराकानी ‘धेरै राम्रो’ थियो।
ट्रम्पले लेखेका छन्, ‘रसिया र युक्रेनले युद्धविराम र सबैभन्दा महत्त्वपूर्ण कुरा, युद्धको अन्त्यका लागि तुरुन्तै वार्ता सुरु गर्नेछन्। यसको सर्तहरू दुई पक्षबीचको सहमतिबाट तय हुनेछ।’
ट्रम्पले यो जानकारी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई दिएको बताएका छन् । यसका अलावा ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज र फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबलाई यसबारे जानकारी गराएका छन् ।
पुटिनले रुस युक्रेनसँग शान्तिका लागि ‘सम्झौता’ गर्न तयार रहेको बताएका छन् । तर, यो सम्झौतामा के–के कुरा समावेश हुनेछन् भन्ने स्पष्ट पारेनन् ।
उनले संकटको मूल कारणहरू सम्बोधन गर्न चाहेको बताएका छन् ।
यस्तै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेन, रुस, अमेरिका, ईयू देशहरू र बेलायतबीच युद्ध अन्त्यका लागि ुउच्चस्तरीयु बैठकमा विचार गरिरहेको सुझाव दिए। जेलेन्स्कीले अमेरिकालाई यी छलफलबाट टाढा नजान अपिल पनि गरेका छन् । उनले रुसले पनि अर्थपूर्ण वार्तामा सहभागी हुन तत्परता देखाउनुपर्ने बताए ।