काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा अझैपनि आर्थिक मन्दीको खतरा टरेको छैन । अमेरिकाका ठूला आर्थिक सूचकांकहरुले अझैपनि मन्दीको संकेत दिईरहेका छन् ।
लिडिङ इकोनोमिक इन्डेक्स(एलआईई)मा मे महिनामा लगातार छैठौ महिना गिरावट आएको छ । यसमा पछिल्लो ३९ महिनामा ३७ पटकसम्म गिरावट आईसकेको छ । जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो अवधिको गिरावट हो । पछिल्लो ६ महिनामा ५ प्रतिशतको वार्षिक गिरावट आएको छ । जसले आर्थिक मन्दीको सम्भावनालाई संकेत गरेको जनाइएको छ ।
एलआईई आफ्नो उच्चतम स्तरबाट १६ प्रतिशतले घटिसकेको छ र यो ९ वर्षमा आफ्नो न्यूनतम स्तरमा पुगेको छ । इतिहास पल्टाएर हेर्ने हो भने सन् १०६० पश्चात प्रत्येकपटक मन्दीभन्दा अघि एलआईईमा लामो समयसम्म गिरावट आएको छ । त्यसैले योपटक पनि अमेरिकाको अर्थतन्त्र मन्दीतर्फ जानसक्ने आँकलन गरिएको छ । यदि अमेरिकाको अर्थतन्त्र मन्दीमा फस्यो भने यसको प्रभाव सम्पूर्ण विश्वमा पर्नेछ । प्राविधिक रुपमा लगातार दुई त्रैमासमा कुनैपनि देशको जीडीपीमा गिरावट आउछ भने त्यसलाई मन्दीमा गएको मानिन्छ ।
यसैबीच अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले हाललाई ब्याजदरमा कटौती हुने कुनै समभावना नभएको बताएका छन् । उनले नीति परिवर्तनको समय चलिरहेकाले यसको प्रभावबारे अहिलेनै केही भन्न नसकिने बताए । उनले यतिबेला ट्रम्पको ट्यारिफ नीतिको प्रभावको पर्खाईमा रहेको बताएका छन् ।