काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। शुक्रबार बिहान बोर्ड बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको स्रोतले जनाएको छ।
बिहीबार दिनभर विभागीय छलफल र व्यवस्थापन समितिमा गहन मन्थन चलेपछि साँझ गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति बैठक बसेको थियो। सो बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा पारित गरेको छ।
गभर्नर पौडेलले मौद्रिक नीति बजेट कार्यान्वयन सँगसँगै साउन १ गतेदेखि लागू हुने गरी ल्याउन निर्देशन दिएका छन्। त्यसैअनुसार तयारी तीव्र पारिएको छ। यदि शुक्रबारको बैठकले कार्यदिशा पारित गर्यो भने, त्यही दिन नीति सार्वजनिक हुने सम्भावना छ।
गभर्नर पौडेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरी नीति सम्बन्धी आवश्यक ब्रिफिङ गरिसकेका छन्। मौद्रिक नीतिमा विदेशी लगानी, नियो बैंक, एसेट म्यानेजमेन्ट कम्पनी लगायत संरचनागत सुधारका विषय समेटिने संकेत दिइएको छ।
स्रोतका अनुसार गभर्नरले नियमनभन्दा सुपरीवेक्षणमा जोड दिने उदार नीतिको सन्देश दिनेछन्। अब्बल बैंकलाई कम नियमन गर्ने, एकीकृत निर्देशन पुनर्लेखन गर्ने र बैंकहरूको आन्तरिक वर्गीकरणको तयारीसमेत गरिएको छ।
त्यसैगरी, रियलस्टेटको फर्स्ट बायरलाई सहज बनाउने, पुँजीबजारमा सकारात्मक संकेत दिने, कर्जाको सहज पहुँच विस्तार गर्ने, र सहुलियत कर्जाको दुरुपयोग रोक्ने प्रावधान मौद्रिक नीतिमा आउने सम्भावना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।