काठमाण्डौ । नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै बढ्ने सम्भावना बोकेको सेयर बजारमा कर्जा लिएर लगानी गर्न चाहनुहुन्छ भने खुशीको खबर छ । बजार तथा लगानी गर्ने स्क्रिप्टहरुको राम्रो अध्ययन गरी लगानी गर्न चाहनेहरुका लागि नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बढाएको एकल ग्राहक कर्जाको सीमा सम्बन्धी व्यवस्था साउन १ गतेदेखि नै कार्यान्वयनमा आउने भएको छ ।
नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाहरुका नाममा बुधबार एक सर्कुलर जारी गर्दै मौद्रिक नीतिमा भएको व्यवस्था साउन १ गतेदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
योसँगै अब मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा साबिकको १५ करोडबाट बढेर २५ करोड रुपैयाँ पुगेको छ । यसको अर्थ एकल व्यक्तिले सेयर धितो कर्जा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट २५ करोड रुपैयाँसम्म लिन पाउनेछ ।
तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि चाहिँ यस्तो सीमा यसअघि नै हटिसकेको छ ।
यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था भएको गरिएको छ ।