काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी उल्लेख्य बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार संस्थाको प्रतिसेयर आम्दानी ३०.५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म १६.६० रुपैयाँमा सीमित थियो ।
खुद ब्याज आम्दानी र नाफामा आएको सुधारसँगै संस्थाको प्रतिसेयर आम्दानी बढेको हो । यो अवधिसम्म संस्थाले २३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११५.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ११ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा पनि ४७.२४ प्रतिशतले बढेको छ । संस्थाले ६२ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ६८ करोड ६४ लाख र सञ्चालन मुनाफा ३२ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा १७ करोड १७ लाख रुपैयाँ रहेको छ । ७८ करोड ३९ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ बढेको छ । संस्थाको रिटेन्ड अर्निङ ९ करोड ९१ लाखबाट बढेर १७ करोड १७ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भको आकार पनि २४ करोड ५३ लाखबाट बढेर ३० करोड १ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्ममा ४ अर्ब ४९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ९ अर्ब २९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५.५६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७.५४ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ १६०.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २९५.०६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.३९ गुणा र तरलता अनुपात १६.२७ प्रतिशत कायम भएको छ ।