काठमाण्डौ । मध्यभोटेकोशी हाइड्रोपावरले ४ करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार कम्पनी ४ करोड १० लाख ८० हजार रुपैयाँ नोक्सानमा देखिएको हो । अघिल्लो आवमा पनि कम्पनीले २ करोड ८ लाख ५७ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । यस हिसाबमा कम्पनीको घाटा दोब्बर बढ्न पुगेको छ ।
कम्पनीको फाइनान्स र अन्य आम्दानी सो अवधिसम्म ह्वात्तै घटेकाले घाटा चुलिएको हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २ करोड ६६ लाख रुपैयाँ रहेकोमा गत आवमो ८८.२० प्रतिशतले घटेर ३१ लाख ४० हजार रुपैयाँ मात्रै कायम भएको छ ।
सो अवधिसम्म कम्पनीको चुक्तापूँजी ६ अर्ब रुपैयाँ रहेकोमा कम्पनीको रिटेन्ड अर्निङ ३९ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ०.६८ रुपैयाँ ऋणात्मक, प्रतिशेयर नेटवर्थ ९३.४३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६४.५९ रुपैयाँ रहेको छ ।