काठमाण्डौ । राजधानी काठमाण्डौमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आज भएको उक्त प्रदर्शनलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेका छन् ।
समाचार एजेन्सी एपीले सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै हजारौं युवाले संसद भवन घेरेर आन्दोलन गरेको लेखेको छ ।
यस्तै बीबीसी हिन्दीले पनि संसद भवन बाहिर भएको विशाल प्रदर्शन नियन्त्रण भन्दान बाहिर गएसँगै नेपालमा कर्फ्यु लगाएको भन्दै समाचार प्रकाशित गरेको छ । राजनीतिक भ्रष्टाचारको मुद्दा उठाउदै र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै विरोध प्रदर्शन भएको बीबीसी हिन्दीले लेखेको छ ।
यस्तै रोयसर्टले पनि नेपालमा आज भएको जेन–जी समूहको आन्दोलनलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । ‘सामाजिक सञ्जाल बन्द गर्ने नेपाल सरकारको निर्णय र देशमा बढ्दो भ्रष्ट्राचारको विरोधमा संसद भवन लक्षित गर्दै आन्दोलन भएको छ । उक्त प्रदर्शनमा युवाहरुको जमातले संसद भवन छिर्न खोजेका छन् । यसका साथै अधिकारीहरुले संसद भवन क्षेत्र आसपास कर्फ्यु जारी गरेका छन्,’ रोयटर्सले लेखेको छ ।
न्यूयोर्क टाइम्सले पनि नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति विशाल युवालं संसद घेर्दै प्रदर्शन गरेको र उक्त क्रममा सयौं घाइते भएको लेखेको छ ।
यस्तै इन्डिपेन्डेन्ट, हिन्दुस्तान टाइम्स, विइन्क न्यूज,इण्डिया टुडे, आजतक लगायतका मिडियाले समेत आजको विरोध प्रदर्शनको खबर प्रकाशित गरेका छन् ।
भारतका अन्य विभिन्न मिडियाले समेत जेन जी समूहको विरोध प्रदर्शनको बारेमा खरब प्रकाशित गरेका छन् ।