काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलको निवासका लागि भाडामा घर खोज्ने प्रक्रिया सुरु गरेको छ। भदौ २४ गते भैंसेपाटीस्थित निजी निवास जेन जी विध्वंसमा नष्ट भएपछि बैंकले तत्कालै नयाँ आवास व्यवस्था गर्न लागिएको हो।
बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आज घर भाडासम्बन्धी प्रस्ताव आह्वान गरेको छ। सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्म १ रोपनीदेखि डेढ रोपनी जग्गामा रहेको घर आवश्यक पर्ने उल्लेख छ।
घर कम्तिमा चार बेडरुम, सबै आधुनिक सुविधा र साढे दुईदेखि तीन तलासम्मको संरचना भएको हुनुपर्नेछ। साथै, छ वटा गाडी पार्क गर्न मिल्ने पर्याप्त ठाउँ र सुरक्षा गार्ड बस्न योग्य व्यवस्था हुनु अनिवार्य छ। इच्छुक पक्षले असोज २७ गतेसम्म प्रस्ताव बुझाउन सक्नेछन्।
गत जेठ ६ गते गभर्नर बनेका पौडेलको पुरानो घर भैंसेपाटीमा पाँच आना जग्गामा बनेको साढे दुई तलाको संरचना थियो। पार्किङ र सुरक्षा सुविधाको कमीका कारण बैंकले गत असारदेखि नजिकै ६ आना जग्गा भाडामा लिएको थियो।
यसअघि बैंकले डा. चिरञ्जीवी नेपालका लागि पनि पाँच वर्षसम्म महाराजगञ्जमा घर भाडामा लिएको थियो। त्यसरी भाडामा लिएको घरमा सबै खर्च बैंकले व्यहोर्ने व्यवस्था रहेको छ।
