काठमाण्डौ । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरेको छ । जेनजी मुभमेन्ट अलाइन्सले सोमबार एक इमेल पठाउँदै प्रमुख आयुक्त राईसहित सबै आयुक्तको राजीनामा मागेको हो ।
पत्रमा भदौ २३ गते भएको जनेजी आन्दोलनका मुख्य माग भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य रहेको उल्लेख गर्दै यी माग पूरा गर्न आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्न आवश्यक रहेको उल्लेख छ ।
यस्तै प्रमुख आयुक्त राई लगायत सबै आयुक्तको नियुक्ति संसदीय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी गरेकाले यसले निष्पक्षतामा ठूलो प्रश्न उठाएको जेनजी समूहको भनाई छ ।
‘तपाईंका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाईंड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्ट्राचार अन्त्य र दोषीलाई कारबाही लगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनिय आधार छैन,’ पत्रमा भनिएको छ, ‘यस कारण, ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईं लगायत सम्पुर्ण आयुक्तलाई तत्काल राजिनामा दिनका लागी आह्वानका साथै यस पत्र मार्फत दबाब दिन्छौं ।’