काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी भुक्तानी हुन सुरु भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी ९अग्रिम भुक्तानी समेत० दिइसकेका छन् ।
प्राधिकरणका अनुसार ठूला र लघुबीमक गरी १८ वटा बीमा कम्पनीमा ३ हजार ९९ वटा बीमाको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेकोमा हालसम्म बीमा कम्पनीहरुले एक अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेका हुन् ।
यसर्थमा अझैपनि बीमा कम्पनीहरुले २१ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिन बाँकी रहेको छ ।
सबैभन्दा धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको देखिएको छ । यो कम्पनीले ३९१ वटा दाबीको ५ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । कम्पनीले हालसम्म ५९ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
स्रोतका अनुसार भाटभटेनी सुपरमार्केटको बीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रहेका कारण यो कम्पनीमा ठूलो रकमको दाबी परेको हो ।
यसैगरी दोस्रो धेरै रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । यो कम्पनीले ९७ वटा दाबीको ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म कम्पनीले ५ लाख ७० हजार रुपैयाँमात्रै भुक्तानी गरेको छ । काठमाण्डौ स्थित हिल्टन होटलको बीमा ओरियन्टल इन्स्योरेन्समा रहेका कारण यो कम्पनीमा पनि ठूलो रकमको दाबी परेको हो ।
यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २०४ वटा दाबीको २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४३१ वटा दाबीको २ अर्ब ४० करोड ८६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३३४ वटा दाबीको १ अर्ब ६० करोड ४८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २५६ वटा दाबीको १ अर्ब १५ करोड ४१ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८९ वटा दाबीको १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३१ करोड ९४ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ८६ लाख १६ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ७ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २१ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् ।
