काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटीएम)बाट झिक्न सकिने रकमको सीमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो सीमा घटाएको हो ।
संशोधित निर्देशिका बमोजिम अब जुनसुकै बैंकको एटीएम कार्ड (डेबिट कार्ड)बाट प्रतिदिन ५० हजार रुपैयाँ अर्थात् प्रतिमहिना ३ लाख रुपैयाँसम्म निकाल्न मिल्नेछ । राष्ट्र बैंकका अनुसार अब प्रति कारोबार जम्मा २० हजार मात्रै निकाल्न मिल्नेछ ।
यसअघिको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरुको एटीएम कार्डबाट प्रतिकारोबार २५ हजार रुपैयाँ अर्थात् प्रतिदिन १ लाख रुपैयाँगरी प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था थियो । राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डबाट गर्न मिल्ने कारोबारको सीमा भने हाल यथावत् राखेको छ ।