काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। यी हस्ताक्षरहरू सोमबार इजिप्टको शर्म अल(शेखमा आयोजित सम्मेलनमा भएका थिए, जसमा २० भन्दा बढी देशका नेताहरू सहभागी थिए।
यस अवसरमा ट्रम्पले भने, ‘नयाँ र सुन्दर दिनको सुरुवात हुँदैछ, अब पुनर्निर्माण सुरु हुँदैछ ।’ उनले इजरायल र हमासबीच युद्धविराम गराउन सहयोग गर्ने मध्यपूर्व देशका नेताहरूको प्रशंसा गरे।
यस्तै इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल(सिसीले यो दिनलाई ऐतिहासिक भनेका छन्। सम्मेलनमा भारतीय पक्षबाट विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह सहभागी थिए ।
ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत सोमबार इजरायली बन्धकहरू र प्यालेस्टाइनी कैदीहरूको आदानप्रदान भएको थियो। यस चरणमा हमासको पक्षबाट २८ इजरायली बन्धकहरूको शव फिर्ता पनि समावेश छ।