काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तत्काल गर्नुपर्ने एउटा महत्वपूर्ण काम नगर्दा सेयर बजारका लगानीकर्ताहरु प्रताडित बन्न पुगेका देखिएको छ ।
अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएको एउटा महत्वपूर्ण बुँदा कार्यान्वयनमा राष्ट्रबैंकले चासो नदिंदा आश्विन मसान्तमा तिर्नुपर्ने ब्याजका कारण बजारमा निकै ठूलो बिक्री दवाब परेको देखिएको हो ।
सेयरधितो कर्जा लिनेहरुले समेत पहिलो त्रैमासको ब्याज असोज मसान्तसम्म तिर्नुपर्छ । तरल राजनीतिक अवस्था र लगानीकर्ताको गिर्दो मनोबलका कारण घटिरहेको बजारमा ब्याज तिर्ने रकम जोहो गर्न लगानीकर्ताहरुले बिक्री बढाउँदा बजार लगातार घटिरहेको छ ।
रुपेश केसी संयोजक रहेको कार्यदलले तत्काल सुधार गर्नुपर्ने विषयहरुमा ब्याज तिर्ने म्याद सार्ने कुरा पनि सुझाएको थियो । त्यसको तेश्रो बुँदामा लेखिएको थियो- 'सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ आश्विन मसान्तसम्म बुझाउनुपर्ने ब्याज पैसा मसान्तसम्म बुझाएमा कुनै पनि थप जरीवाना नलाग्ने व्यवस्था गर्ने ।'
कार्यदलले तत्काल गर्नुपर्ने विषय भनी सुझाएका बुँदाहरुमध्ये २५ करोडको सेयर धितो कर्जाको क्याप हटाउने व्यवस्था केन्द्रीय बैंकले कार्यान्वयनमा ल्याइसकेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरीदबिक्रीमा साबिकको १ वर्षसम्म होल्ड गर्नुपर्ने नियम संसोधन गरी ६ महिनामा सीमति गरिदिइसकेको छ ।

तर, तत्काल बजारमा मनोबल उकास्न र लगानीकर्तालाई विषम परिस्थितिमा घाटामा सेयर बिक्री गर्न बाध्य पार्न रोक्ने आपतकालीन उपचारको रुपमा रहेको असोज मसान्तसम्म बुझाउनुपर्ने ब्याज पैसा मसान्तसम्म बुझाउने व्यवस्था भने कार्यान्वयनमा आउन सकेन ।
आइतबार बजारमा तीव्र गिरावट आएसँगै धितोपत्र बोर्ड घेराउ गर्न पुगेका केही लगानीकर्ताहरुले समेत राति १० बजेसम्म पनि असोज मसान्तसम्म बुझाउनुपर्ने ब्याज तिर्ने समय सारिदिने व्यवस्था गरिदिन सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई दवाब दिइरहेका छन् ।
त्यहाँ गएका अधिकांश लगानीकर्ताको भनाई थियो- 'राष्ट्रबैंकले तत्काल गर्नुपर्ने काम गरिसक्यो, तर सेबोनले ढिलो गरिदियो । सेबोनले तत्कालै असोज मसान्तसम्म ब्याज तिर्नुपर्ने समय पछि सार्ने व्यवस्था गर्न पर्यो । अरु मागका लागि हामी तिहारपछि आन्दोलन गरौंला, तर यो विषय अहिले र आज नै सम्बोधन हुनुपर्छ ।'
तर, आन्दोलनमा गएका ती लगानीकर्ताले यो व्यवस्था गर्ने जिम्मेवारी केन्द्रीय बैंकको रहेको विषय भूलेका देखिएको छ । केन्द्रीय बैंकले एक सर्कुलर जारी गरेर बैंक तथा वित्तीय संस्थालाई भनेपछि मात्र सेयर लगानीकर्ताहरुले लिएका सेयरधितो कर्जाको ब्याज बुझाउने समय सार्न सकिन्थ्यो । लगानीकर्ताहरुले कुन विषयका लागि कहाँ दवाब दिने भन्ने विषय नबुझ्दा समेत समस्या भएको बजारकै लगानीकर्ताहरु बताउँछन् ।
'राष्ट्रबैंकसँग माग्नुपर्ने विषय धितोपत्र बोर्डमा गएर मागेको छ । धितोपत्र बोर्डमा माग्नुपर्ने विषय अरु निकायमा गएर मागेको छ । यस्तो तालले लगानीकर्ताको माग पूरा हुँदैन ।' पछिल्लो समयको लगानीकर्ताको आन्दोलनबाट नजिकबाट नियालिरहेका एक पुराना सेयर लगानीकर्ताले बिजशालासँग भने -'राष्ट्रबैंकले तत्काल गर्नुपर्ने ब्याज तिर्ने अवधि सार्ने विषय किन कार्यान्वयन गरेन ? आपतकालीन सहयोगको रुपमा यो विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा टालटुले काम गरेर गभर्नर किन अमेरिका उडे ? लगानीकर्ताले खोजी गर्न आवश्यक छ ।'