काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौ सिनामगंलस्थित काठमाण्डौ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाण्डौ मेडिकल कलेजमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।