काठमाण्डौ । जापानको सेयरबजारले पहिलोपटक ५० हजार विन्दुको आँकडा पार गरेको छ । आजको कारोबारमा निक्की२२५ इन्डेक्स २.२६ प्रतिशत अर्थात १ हजार २१२ अंकले बढेर ५० हजार ५१२ विन्दुमा पुगेको छ ।
नवनियुक्त प्रधानमन्त्री सानाए ताकाइचीको आर्थिक वृद्धिको नीतिले सेयरबजारमा सकारात्मक माहोल बनेका कारण वृद्धि देखिएको जनाइएको छ । बजारमा लगानीकर्तामाझ सरकारले ९२.२ बिलियन डलरबराबरको लगानी गर्ने विश्वास रहेको छ ।
ताकाईचीको ध्यान विकासका योजनामा रहेकाले यसले अर्थतन्त्रलाई उकास्न सहयोग पुर्याउने विश्वास लगानीकर्ताको रहेको छ । यस्तै ठूलो परिणाममा आर्थिक पुनरुत्थानको प्याकेज समेत ल्याउने सम्भावना रहेको छ ।
यतिबेला जापानी येन कमजोर बन्दा समेत त्यसको फाइदा जापानका कम्पनीहरुलाई भईरहेको छ । येन कमजोर बन्दा विशेष गरेर टेक र उत्पादन कम्पनीहरुको आम्दानी वृद्धि भईरहेको छ ।
ताकाईचीको सुधार एजेण्डाले प्राविधिक तथा उर्जा क्षेत्रको मुनाफा समेत वृद्धि भईरहेको छ । यसका अतिरिक्त अमेरिकासँगको व्यापार सम्झौताले समेत सकारात्मक प्रभाव परिरहेको छ ।

