काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । बैठकले कम्पनीको २० औं र २१ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा मंसिर २९ गते पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा लाभांश वितरणको प्रस्ताव पारित हुनुका साथै बोनस सेयर जारी भएपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/८१ र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने, आव २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति चयन गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा मंसिर १७ गतेसम्म कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

