काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीप्रति निराशा व्यक्त गरेका छन्। रूस–युक्रेन युद्ध अन्त्यसँग सम्बन्धित एक प्रस्ताव जेलेन्स्कीले अझै नपढेको बताउँदै ट्रम्पले उक्त टिप्पणी गरेका हुन्।
ट्रम्पले भने, ‘हामीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्की दुवैसँग कुरा गरेका छौँ। तर जेलेन्स्कीले प्रस्ताव अहिले पनि नपढेको सुन्दा म अलि निराश भएको छु।’
उनका अनुसार रूस उक्त प्रस्तावप्रति सहमत देखिएको छ, तर जेलेन्स्कीले समर्थन जनाएका छैनन्। ‘युक्रेनी जनताले यो मन पराएको देखिन्छ, तर जेलेन्स्की भने तयार छैनन्,’ ट्रम्पले बताएका छन्।
यसबीच रूस–युक्रेन युद्ध रोक्नका लागि कूटनीतिक प्रयासहरू जारी रहे पनि हिंसा अझै बढ्दो छ। रूसले शनिबार रातभर युक्रेनका ठूला सहरहरूमा हवाई हमला गरेको जनाइएको छ ।
युक्रेनको औद्योगिक शहर क्रेमेन्चुकका मेयरका अनुसार शहरमा रुसबाट ठूलो स्तरको आक्रमण भएको छ। त्यस्तै, रूसी रक्षा मन्त्रालयले विभिन्न क्षेत्रमा युक्रेनका ७७ ड्रोन खसालिएको दाबी गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।