काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका क्रममा धितो लिलामी गर्दा कम्तीमा तीन पटकसम्म लिलामी प्रक्रिया पूरा गर्दा पनि उक्त धितो बिक्री नभएमा मात्र आफैँले सकार गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि कर्जा असुलीको क्रममा धितो लिलामी हुँदा बिक्री नभएमा बैंक तथा वित्तीय संस्थाले तत्कालै धितो सकार गर्नुपर्ने प्रावधान थियो। तर अब उक्त व्यवस्था परिमार्जन गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै कर्जा असुलीका लागि कम्तीमा तीन पटकसम्म धितो लिलामी प्रक्रिया सम्पन्न गर्दा पनि धितो बिक्री नभएमा मात्र बैंक तथा वित्तीय संस्थाले उक्त धितो आफैँले सकार गर्नुपर्ने स्पष्ट गरेको छ।
राष्ट्र बैंकका अनुसार धितो सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण कर्जा बक्यौता रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा धितोको मूल्याङ्कन गर्नुपर्नेछ। साथै, यदि धितोको बजार मूल्य कर्जाको बक्यौता रकमभन्दा कम भएमा कम भएको रकमलाई सोही आर्थिक वर्षको नाफा–नोक्सान खातामा खर्चका रूपमा लेखा नीतिमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई धितो व्यवस्थापनमा थप लचिलो बनाउने तथा कर्जा असुली प्रक्रियालाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

