काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ शनिबार (पुस ५)देखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे ।
सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले प्रविधिको उच्चतम प्रयोगमार्फत निर्वाचन प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए । उनले यदि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेमा आगामी निर्वाचनमा कम लागतमै ‘इ(भोटिङ को व्यवस्था गर्न सकिने बताए ।
‘सूचना प्रविधिको यो युगमा पनि अर्बौँ रुपैयाँ खर्च गरेर कागजको मतपत्र छाप्ने र सुरक्षाका साथ दुई दिन लगाएर बोक्नुपर्ने बाध्यता दुखद छ,’ मन्त्री खरेलले भने, ‘डिजिटल नेपालको लक्ष्य पूरा गर्न सरकार प्रविधिमैत्री बन्नुको विकल्प छैन । अब डिजिटल मार्गको माग बढ्दो छ र मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारमा तीव्रता दिइरहेको छ ।’
उनले सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको र जेन(जी आन्दोलनको भावना अनुरूप सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका अतिथिले सरकारले लगानीको सुरक्षा प्रत्याभूति गर्ने वातावरण बनाउन र स्पष्ट लगानी संरक्षण नीति ल्याउन आग्रह गर्दै सूचना प्रविधिको क्षेत्रमा रोजगारीका हजारौँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिए ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबीचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताए ।
क्यान महासंघकी उपाध्यक्ष सिर्जना श्रेष्ठले कार्यक्रममा सञ्चालन हुने विभिन्न सत्रहरुबारे जानकारी दिइन् । यसअन्तर्गत सम्मेलनको पहिलो दिन शनिबार ‘आईटी व्यवसायको डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स’ विषयमा केन्द्रित रहेर विशेष छलफलहरू भए । जसमा हाई(टेक, टेक वर्ल्ड डिस्ट्रिब्युसन लगायतका प्रमुख कम्पनीहरूले आ–आफ्नो नवीन प्रविधिको प्रस्तुति दिएका थिए ।
कार्यक्रमको पहिलो दिनको अन्त्यमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले धन्यवाद ज्ञापन गर्दै सम्मेलनको उद्देश्यमाथि थप प्रष्ट पारेका थिए । अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताए ।
दोस्रो दिन आज आइतबार साझा सम्म चल्ने कार्यक्रम विशेषगरी ‘साइबर सुरक्षा र एआई’ मा केन्द्रित हुनेछ । भोलिको सत्रमा वर्तमान समयमा बढ्दो साइबर चुनौती र ती समस्या समाधानमा एआईको भूमिकाबारे विज्ञहरूसँग प्यानल छलफल हुनेछ ।
दुई दिने यस समिटमा १०० भन्दा बढी प्राविधिक प्रतिनिधि र व्यवसायीहरूको सहभागिता रहेको छ ।

