काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो।
बैठकले यही माघ ३ गते शनिबारका दिन काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।
यसका साथै अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने, आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

