काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार फ्लोरिडामा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग भेट गरेका छन्। भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरणमा छिट्टै प्रवेश गर्ने अपेक्षा व्यक्त गरेका छन्।
ट्रम्पले हमासलाई तत्काल हतियार त्याग्न चेतावनी दिँदै, त्यसो नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। २० बुँदे गाजा शान्ति योजनामा हमासको निरस्त्रीकरण अनिवार्य शर्तका रूपमा समावेश गरिएको छ।
पत्रकार सम्मेलनमा ट्रम्पले इजरायलले शान्ति योजनाको १०० प्रतिशत पालना गरेको दाबी गरे। तर उक्त दाबीका बाबजुद गाजामा इजरायली सेनाका आक्रमणहरू जारी रहेका छन्।
यसै क्रममा अमेरिकी राष्ट्रपतिले इरानले आफ्नो ब्यालिस्टिक मिसाइल वा आणविक हतियार कार्यक्रम पुनः अघि बढाएमा अमेरिकाले इरानविरुद्ध अर्को ठूलो सैन्य कारबाहीलाई समर्थन गर्न सक्ने चेतावनी पनि दिएका छन्।
ट्रम्पले गाजामा पुनर्निर्माणको काम छिट्टै सुरु हुन सक्ने संकेत दिएका छन्। गाजा शान्ति योजना गत अक्टोबरमा लागू गरिएको थियो। योजनाको दोस्रो चरणअन्तर्गत गाजामा एक टेक्नोक्रेटिक सरकार गठन गरिने, हमासले हतियार त्याग्ने तथा इजरायली सेना क्षेत्रबाट फिर्ता हुने प्रावधान रहेको छ। यसपछि गाजाको पुनर्निर्माण प्रक्रिया सुरु हुने उल्लेख छ।
यसैबीच, हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, युद्धविराम लागू भएयता इजरायली सेनाको कारबाहीमा कम्तीमा ४१४ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।