सोमबार, जेष्ठ ४,२०८३ 04:58:40
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:58:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्दोष साबित भई राजनीति थाल्ने अशोक शेरचनको योजना, कसलाई बनाइँदैछ प्रभू बैंकको नयाँ सीईओ ?

Laxmi Sunrise Bank Limited
निर्दोष साबित भई राजनीति थाल्ने अशोक शेरचनको योजना, कसलाई बनाइँदैछ प्रभू बैंकको नयाँ सीईओ ?
Shivam Cement

काठमाण्डौ । घोटाला काण्डहरुका कारण पछिल्लो समय चर्चाको शिखरमा रहेको प्रभू बैंक लिमीटेडको नेतृत्व कसलाई दिने भन्ने विषयमा व्यापक छलफल र तयारीहरु भइरहेका छन् ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत उच्चपदस्थ कर्मचारीहरु घोटाला प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परी केही साताको हिरासत बसाईपछि सरकारी वकिलको आदेशबाट अहिले हाजिरी जमानीमा रिहा भइसकेका छन् । 

Bizshala
New Office
CG Motors

सीईओ शेरचन रिहा भएपछि उनैलाई बैंक व्यवस्थापनको नेतृत्व दिने गरी सञ्चालक समितिले तयारी गरेको थियो । शेरचन रिहा भएको दुई दिनपछि नै सञ्चालक समितिले बबरमहलस्थित बैंक मुख्यालयमा उनलाई बोलाएर निलम्बन फुकुवाको प्रयास गरेको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीको जोडबलमा निलम्बन फुकुवाको प्रयास गरिए पनि राष्ट्रबैंकले अन्तिम अवस्थामा ग्रीन सिग्नल नदिंदा सफल हुन सकेको थिएन।

केन्द्रीय बैंकले सीईओ शेरचन हाजिरी जमानीमा छुटेका, उनीमाथि अनुसन्धान भइरहेको र निर्दोष साबित नभइसकेको अवस्थामा बैंक सञ्चालक समितिले निलम्बन फुकुवा गरेमा कानूनी राज्यको धज्जी उड्ने र यसले अर्को समस्या निम्त्याउने भन्दै अहिले हतार नगर्न सुझाव दिएको थियो । सुझावकै कारण अन्तिम अवस्थामा सञ्चालक समितिले शेरचनलाई छुटेलगत्तै बैंक फर्काउन गरेको प्रयास सफल हुन सकेन । त्यसपछि अध्यक्ष कार्कीकै सक्रियता र अशोक शेरचन समेतको सल्लाहअनुसार बैंकको भावी नेतृत्वको विषयमा विभिन्न नामहरुमा छलफल भइरहेको उच्च स्रोतले जानकारी दिएको छ ।  

शेरचनलाई नै ल्याउने पहिलो कसरत

बैंक सञ्चालक समितिका अध्यक्ष केही सञ्चालकहरुको समेत साथ लिएर अहिले अशोक शेरचनलाई नै सीईओको रुपमा ल्याउने दौडधूपमा रहेका स्रोतहरु दाबी गर्छन् ।  

सञ्चालक हुँदै अध्यक्षको रुपमा कार्कीलाई ल्याउने व्यक्ति शेरचन नै रहेकाले नूनको सोझो गर्न कार्कीले विभिन्न शक्तिकेन्द्रहरु धाउने कामलाई  तीव्रता दिएका बुझिएको छ । यो क्रममा उनले आफू निकटस्थहरुसँग शेरचनको केसमा नरम बनिदिन राष्ट्रबैंकलाई आफूले आग्रह गरेको र गभर्नरबाहेकका अधिकारीहरु सकारात्मक रहेका बताउने गरेका छन् ।  

उनले अनुसन्धान गरिरहेको सीआईबीलाई समेत प्रभाव पार्ने गरी माथिल्लो निकायमा चलखेल समेत गरिरहेका पाइएको छ । यसका लागि उनले केही पावर सेन्टरहरुमा अशोक शेरचनलाई लिएर जाने गरेको र सहयोगको याचना गर्ने गरिएको समेत खुलेको छ ।  

यो बीचमा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत भेट्ने प्रयास गरेका छन् । कार्कीको सचिवालयमा पटक–पटक शेरचनको तर्फबाट समय माग भएको समेत बुझिएको छ । तर, प्रधानमन्त्रीले बैंकिङ कसूर र फौजदारी अभियोगमा अनुसन्धान जारी रहेको आरोपीसँग भेटघाट गर्न अस्वीकार गरेपछि उनीहरु रनभूल्लमा परेका बुझिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

प्रधानमन्त्रीले समय नदिएपछि शेरचनलाई निर्दोष साबित गर्न भन्दै अध्यक्ष कार्कीले आफूनिकट(आफन्त) न्यायाधीशमार्फत न्यायालयमा खेल्ने योजना बनाएका छन् । सो क्रममा केही शक्तिशाली न्यायाधीशहरुसँग छलफल समेत भइसकेको कार्की निकट स्रोतको दाबी छ । कतैबाट पार नलागे सीआईबीले अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गर्ने र त्यहीबेला चलखेल गर्ने गरी योजना बनाइरहेका समेत स्रोतको दाबी छ ।  

‘कार्की नेतृत्वको समूहको पहिलो प्राथमिकता शेरचनलाई नै निर्दोष साबित गरी बैंकको नेतृत्वमा फर्काउने रहेको छ ।’ उच्च स्रोतले दाबी गर्दै भनेको छ–‘शेरचनले पनि आफू निर्दोष भइसकेपछि बैंकमा फर्किने र केही दिन काम गरी आफ्नो विश्वासपात्रलाई नेतृत्व सुम्पिने चाहना व्यक्त गरेका छन् । यो केशबाट उन्मुक्ति पाएर बैंक छाडेपछि भविष्यमा राजनीति गर्न खोजेका उनलाई सजिलो हुने आफू निकटस्थहरुसँग बताउने गरेका छन् ।’  

यसरी जुनसुकै मूल्य चुकाएर भए पनि निर्दोष साबित भई केही दिन काम गरेर राजीनामा दिई बैंकबाट बाहिरिने शेरचनको योजना रहेको दाबी गरिएको छ । ‘उहाँले बैंकमा अब नबस्ने, बरु निर्दोष साबित भएपछि एमालेको राजनीति सुरु गर्ने भन्नुभएको छ । चाँडै यो काम भएमा आउने निर्वाचनमै प्रत्यक्षतर्फको उम्मेद्वार बन्नेसम्मको उहाँको योजना छ ।’–शेरचन निकट उच्च स्रोतले बिजशालासँग भन्यो ।  

त्यसो त राजनीतिमा आउने योजनाकै कारण शेरचनले अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मै खेल्ने प्रयास गरेका थिए । तर, अहिलेको सीआईबी नेतृत्व निकै व्यवसायिक रहेका कारण उनको प्रयासले परिणाम निकाल्न सकेन । सीआईबीको नेतृत्वमा रहेको मनोज केसी र उनको टिम नै निकै व्यवसायिक र क्लिन रहँदा समेत शेरचन समूहको सेटिङ मिलाउने प्रयास सफल हुन सकेन ।  

अरु सम्भावित को–को ?

शेरचनको आफैं फर्किने प्लान सफल नभएको खण्डमा बैंकमा कसलाई ल्याउने भन्ने विषयमा अन्य आन्तरिक तयारीहरु पनि भइरहेका छन् । यसमा राष्ट्रबैंककै केही अधिकारीहरुले पनि चासो दिएर गोप्य रुपमा काम गरिरहेका बुझिएको छ । यो क्रममा केही बैंकरहरुसँग छलफल भइरहेको छ ।  

प्रभू बैंकमा सीईओ बनाएर ल्याउने पहिलो नामको रुपमा केन्द्रीय बैंकका अधिकारीहरुले सुमन शर्मालाई अगाडि सारेका छन् । शर्माले माछापुच्छ्रे बैंक, सनराइज बैंक लगायतको नेतृत्व सम्हालिसकेका छन् । उनको विषयमा अशोक शेरचन, बैंक सञ्चालक समितिका अध्यक्ष कार्की लगायतसमेत सकारात्मक रहेका बुझिएको छ । सुमन समेत बैंक सम्हाल्न तयार नै देखिएका स्रोतको दाबी छ । ‘अहिलेसम्मको छलफल, परिदृश्य र सबै पक्षको धारणा बुझ्दा सुमन शर्मालाई नै शेरचनको योजना सफल नहुने देखिएको अवस्थामा प्रभू बैंकको सीईओ बनाइने देखिन्छ ।’ उच्च स्रोतले भनेको छ ।  

Suman Sharma

राष्ट्रबैंकभित्रै छलफल भइरहेको र अन्य विभिन्न पक्षबाट समेत बैंकको नेतृत्वका लागि भन्दै सम्भावित अर्का दाबेदारको रुपमा भेटेरान बैंक ज्ञानेन्द्र ढुंगानाको नाम समेत अगाडि आएको छ । अहिले पनि प्रभू बैंकका अशोक शेरचनले नै चाहेको व्यक्ति मात्र सीईओ बन्नसक्ने अवस्था रहेका कारण उनले पनि ढुंगानाको नाममा सहमति जनाउनसक्नेछन् । कारण, शेरचन र ढुंगाना पुराना साथी पनि हुन् । ढुंगानाको राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेलसँग पनि राम्रो सम्बन्ध छ । डूब्नै लागेको बंगलादेश बैंकलाई सहज ढंगले नवीलमा मर्ज गराई उद्योगकै ठूलो संस्थाको नेतृत्व हाँकेका र हाल श्रीलंकाको एक बैंकको सञ्चालकको रुपमा समेत काम गरिरहेका ढुंगानालाई नेतृत्व दिइनुपर्ने माग प्रभू बैंकभित्रकै उच्चपदस्थ कर्मचारीहरुबाट बारम्बार आउने गरेको छ । ढुंगानाको नेतृत्वलाई सर्वस्वीकार्य नेतृत्वको रुपमा स्थापित हुनसक्ने सम्भावनाका कारण यसमा समेत तीव्र छलफल भइरहेको बुझिएको छ ।

Gyanendra Dhungana

तेश्रो विकल्पको रुपमा प्रभू बैंकका सीईओ र डिसीईओ पक्राउ परेपछि बैंक हाँकिरहेका निमित्त सीईओ निरज लम्सालको नाम पनि अगाडि सारिएको छ । लम्सालले बैंक राम्रै ढंगले हाँकेका विश्लेषणसहित केही समूहले उनैर्लाइ फूल सीईओ बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव पनि गरिरहेको छ । बैंकभित्रकै केहीले भने लम्सालको नेतृत्वले बैंक अझै कमजोर बन्ने र आन्तरिक कलह समेत चुलिने भन्दै बाहिरबाटै दमदार नेतृत्व ल्याइनुपर्ने माग गरिरहेको छ ।  

Niraj Lamsal with Bank Building

त्यसो त प्रभू बैंकको भावी नेतृत्वमा बैंकर सुनिल केसीको नाम समेत केही व्यक्तिले प्रस्ताव गरिरहेका बुझिएको छ ।

Sunil KC
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.