काठमाण्डौ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूले पाएको नोबेल शान्ति पुरस्कार हस्तान्तरण गरेको बताएकी छन्।
राष्ट्रपति ट्रम्पले मचादोको यस कदमको प्रशंसा गर्दै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेखेका छन्, ‘मारिया एक असाधारण महिला हुन्, जसले धेरै कठिनाइहरू सहनुपरेको छ। उनले मैले गरेको कामको सम्मानस्वरूप मलाई आफ्नो नोबेल शान्ति पुरस्कार सुम्पिएकी छन्।’
ट्रम्पले यसलाई ‘आपसी सम्मानको उत्कृष्ट अभिव्यक्ति’ भन्दै मचादोलाई धन्यवाद दिएका छन्।
यो ट्रम्प र मचादोबीचको पहिलो प्रत्यक्ष भेट भएको बताइएको छ। यसैबीच, हालै भेनेजुएलाको राजधानी काराकासमा अमेरिकी सैनिकहरूले राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिएको दाबी गरिएको छ। त्यसपछि देशको शासन कार्यवाहक राष्ट्रपतिको रूपमा डेल्सी रोड्रिगेजले सम्हालिरहेकी छन्। मादुरोको कार्यकालमा रोड्रिगेज उपराष्ट्रपति थिइन्।
भेनेजुएलाको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विषयमा राष्ट्रपति ट्रम्पले मचादोलाई खुला समर्थन गर्न अस्वीकार गर्दै डेल्सी रोड्रिगेजसँग संवाद गरिरहेको जनाइएको छ।
मचादो नेतृत्वको आन्दोलनले सन् २०२४ मा सम्पन्न भेनेजुएलाको राष्ट्रपतीय निर्वाचनमा आफूहरूले जित हासिल गरेको दाबी गरेको थियो र मचादोलाई नयाँ नेताका रूपमा प्रस्तुत गरेको थियो। तर उक्त निर्वाचन व्यापक रूपमा विवादित रहँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।