काठमाण्डौ । गत वर्ष जापानको सुन भण्डार १२० अर्ब डलरको रेकर्डतोड स्तरमा पुगेको छ। यो आँकडा सन् २०२४ को तुलनामा करिब ६० प्रतिशतले बढी हो । यस वृद्धिमा जापानले अधिक सुन नकिने पनि सुनको मूल्यमा आएको तीव्र वृद्धिका कारण भण्डारणमा उछाल देखिएको हो।
हाल जापानको कुल विदेशी मुद्रा भण्डारमा सुनको हिस्सेदारी ९ प्रतिशत पुगेको छ। सुनको मूल्य सन् २०२२ को तुलनामा लगभग दुई गुणा बढिसकेको छ।
त्यस्तै, जापानको कुल फोरेक्स रिजर्भ १.१७ ट्रिलियन डलर पुगेको छ, जुन सन् २०२१ पछि सबैभन्दा उच्च स्तर हो। देशको कुल रिजर्भ एसेट्स १.३७ ट्रिलियन डलर पुगेको छ।
अमेरिकाका सरकारी बन्डमा जापानको सबैभन्दा ठूलो हिस्सेदारी रहेको छ। हाल जापानको अमेरिकी ट्रेजरी होल्डिङ १.२ ट्रिलियन डलरमा छ। यद्यपि भारत, चीन, ब्राजिल र साउदी अरेबियाले हालै आफ्ना अमेरिकी ट्रेजरी होल्डिङ घटाएका छन् र सुनमा लगानी बढाएका छन्, जापानले भने अमेरिकी बोण्डमा आफ्नो हिस्सेदारी बढाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा हेर्दा, जापानको विदेशी मुद्रा भण्डार चीनपछि दोस्रो सबैभन्दा ठूलो छ। चीनको विदेशी मुद्रा भण्डार ३.६८२ ट्रिलियन डलर रहेको छ। यस सूचीमा स्विट्जरल्यान्ड ९२७ अर्ब डलर, भारत ६६२ अर्ब डलरको साथ तेस्रो र चौथो स्थानमा छन्।
सुन भण्डारको मामलामा अमेरिका पहिलो स्थानमा छ । अमेरिकासँग ८,१३३ टन सुन भण्डारण रहेका छ । त्यसपछि जर्मनीसँग ३,३५० टन, इटलीसँग २,४५२ टन, फ्रान्ससँग २,४३७ टन, रूससँग २,३३ टन, चीनसँग २,३०४ टन, स्विट्जरल्यान्डसँग १,०४० टन, भारतसँग ८८० टन र जापानसँग ८४६ टन पर्छन्।

