काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर महिनामा उच्च घरजग्गा कारोबार भएपनि पुसमा कारोबार संख्या स्थिर रहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।
विभागका अनुसार पुसमा देशभर ५१ हजार ८०० घरजग्गा कारोबार भएका छन्, जुन मंसिरको ५१ हजार ६०० कारोबारसँग लगभग समान छ।
तर, पुसमा कारोबार संख्या स्थिर भए पनि राजस्वमा ६ प्रतिशत वृद्धि भएको छ। पुसमा घरजग्गा कारोबारबाट सरकारलाई ५ अर्ब १७ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ, जबकि मंसिरमा यही रकम ४ अर्ब ८४ करोड रहेको थियो।
घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्वमा सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षक समावेश छन्। तीमध्ये सबैभन्दा बढी योगदान रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरले पुर्याउँछन्।

