काठमाण्डौ । गोरखा–२ बाट उम्मेदवारी दिएका डा. बाबुराम भट्टराईले संसदीय चुनावी प्रतिस्पर्धाबाट आफूलाई अलग राख्ने निर्णय गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले उम्मेदवारी फिर्ता लिने औपचारिक घोषणा गरेका हुन्।
डा. भट्टराईले गोरखाका युवा, नागरिक अगुवा तथा बुद्धिजीवीसँग गरिएको परामर्शपछि सांसद बन्नेभन्दा बाहिर रहेर राष्ट्रिय राजनीतिमा योगदान दिनु उपयुक्त ठानेको बताएका छन्। संघीय निर्वाचनमा सीमित भूमिकामा बाँधिनुभन्दा दलहरूलाई मार्गदर्शन गर्ने र आवश्यक पर्दा अभिभावकीय भूमिका निर्वाह गर्ने सुझाव व्यापक रूपमा आएको उनले बताए।
यस्तै उनले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता समेत जनाएका छन् । भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।
प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका भट्टराईको फिर्तासँगै गोरखा–२ को चुनावी प्रतिस्पर्धा थप स्पष्ट भएको छ। अब उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा (एमाले) का मिलन गुरुङ(चक्रेमिलन), नेकपा (माओवादी केन्द्र) का लेखनाथ पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र वुर्लाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ।

