काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ८.१५ प्रतिशत अर्थात ४३४ डलरले खस्किएको छ ।
यो गिरावटसँगै सुनको कारोबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार ८९३ डलरमा भईरहेको छ ।
गत बिहिबार भने सुनको भाउ प्रतिऔंस ५ हजार ५९४ डलरको ऐतिहासिक उचाईमा पुगेको थियो । जनवरी महिनामा मात्रै सुनको मूल्य २० प्रतिशत भन्दा बढीले वृद्धि भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि २४.४६ प्रतिशत अर्थात २९.१६ डलरले घटेर प्रतिऔंस ८५ डलरमा कारोबार भईरहेको छ ।
अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्षका रूपमा तुलनात्मक रूपमा कम उदार व्यक्ति नियुक्त हुन सक्ने अड्कलबाजी, अमेरिकी डलरको पुनरुत्थान तथा सुनको मूल्य अघिल्लो चरणमा अत्यधिक बढिसकेको अवस्थाले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको विश्लेषकहरुले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेड अध्यक्ष जेरोमी पावेलको स्थानमा नयाँ अध्यक्षको नाम अघि सारेका छन्। पावेल आगामी मे महिनामा पदबाट बाहिरिने छन्। यसबीच, केभिन वार्श फेड अध्यक्ष बन्न सक्ने चर्चाले एसियाली कारोबार अवधिमा सुनको मूल्यमा दबाब परेको विश्लेषकहरुको ठहर छ ।
बुधबार फेडले ब्याजदर यथावत् राख्ने निर्णय गरेपछि अमेरिकी डलर बहुवर्षीय न्यूनतम तहबाट माथि उठेको छ । डलर मजबुत हुँदा डलरमा मूल्य निर्धारण गरिने सुन विदेशी खरिदकर्ताका लागि महँगो पर्न जान्छ। यद्यपि बजारले सन् २०२६ मा फेडले दुईपटक ब्याजदर कटौती गर्ने अपेक्षा अझै कायम राखेको छ।
यसैबीच, स्विट्जरल्यान्डबाट बेलायततर्फ हुने सुन निर्यात सन् २०१९ अगस्टयताकै उच्च स्तरमा पुगेको स्विस भन्सार तथ्यांकले देखाएको छ। बेलायत विश्वकै सबैभन्दा ठूलो ओभर–द–काउन्टर सुन कारोबार केन्द्र हो।

