काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरिएको छ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमार्फत ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हअन्तर्गत रहेका कुल ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम उक्त बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार प्रकाशित बन्दसूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्। अन्तिम बन्दसूचीको विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा राखिएको आयोगले जानकारी दिएको छ।

