काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खर्च व्यवस्थापन र वित्तीय संरचना सुधार मार्फत आफ्नो वित्तीय अवस्था सुदृढ बनाएको देखिएको छ।
समीक्षा अवधिसम्म कम्पनीले ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशतले वृद्धि हो। नाफा वृद्धिमा विद्युत बिक्रीबाट हुने स्थिर आम्दानीसँगै वित्त खर्च र कर्मचारी खर्चमा आएको कमी प्रमुख कारक बनेको छ।
कम्पनीले यस अवधिमा विद्युत बिक्रीमार्फत २५ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको २४ करोड ५२ लाख रुपैयाँभन्दा बढी हो। यद्यपि प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड १५ लाख रुपैयाँबाट बढेर २ करोड १० लाख रुपैयाँ पुगेको छ। तर, कर्मचारी खर्च १ करोड ३९ हजार रुपैयाँबाट घटेर ९२ लाख ७ हजार रुपैयाँमा सीमित हुनु र वित्त खर्च ९ करोड १९ लाखबाट घटेर ८ करोड ३५ लाख रुपैयाँमा झर्नु कम्पनीका लागि सकारात्मक संकेतको रुपमा देखिएको छ ।
यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ६ करोड २० लाख रुपैयाँबाट बढेर ११ करोड २८ लाख रुपैयाँ पुगेको छ, जसले आन्तरिक पूँजी सुदृढ हुँदै गएको देखाउँछ। कम्पनीको कुल चालु सम्पत्ति १८ करोड २० लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ४५ लाख ३८ हजार रुपैयाँ मात्र रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.५३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११४.८५ रुपैयाँ र रिर्टन अन इक्विटी ९.४५ प्रतिशत कायम भएको छ ।

