काठमाण्डौ । अमेरिकी प्रविधि दिग्गज अल्फाबेटले (गूगलको माउ कम्पनी)ले अत्यन्त दुर्लभ १०० वर्षे कर्पोरेट बोण्ड जारी गरेको छ। यो कदम कम्पनीको आगामी एआई योजनाहरूलाई वित्तीय सहयोग पुर्याउने रणनीतिको हिस्सा भएको जनाइएको छ ।
कम्पनीले यसअघि २० अर्ब अमेरिकी डलरको बोण्ड बिक्री गरेको थियो भने, मंगलवार जारी गरिएको बोण्ड बिक्रीमा लगानीकर्ताको माग आपूर्ति भन्दा करिब १० गुणा बढी रहेको जनाइएको छ। यो बाण्डको उद्देश्य अल्फाबेटको एआईमा खर्च दोब्बर गर्दै १८५ अर्ब डलरमा पुर्याउने योजनाको लागि स्रोत जुटाउनु हो।
सामान्यतया कर्पोरेट कम्पनीहरूले यति लामो अवधिको बन्ड जारी गर्दैनन्। किनभने कम्पनीहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित हुँदैन र साधारण लगानीकर्ताले बन्डको परिपक्वता हेर्न नसक्ने हुन्छ। यस्ता बन्ड प्रायः विश्वविद्यालयको कोष, जीवन बीमा कम्पनी र पेंशन फण्ड जस्ता संस्थाहरूका लागि उपयुक्त मानिन्छ।
इतिहासमा, आईबीएम, जेसी पेनी र मोटोरोला जस्ता कम्पनीहरूले यस्ता लामो अवधिका बोण्ड जारी गरेका थिए। तर समयक्रममा ती कम्पनीहरूमा गिरावट आएको र लगानीकर्ताहरूले ठूलो घाटा व्यहोरेको पाइन्छ।
विशेषज्ञहरूले भने अल्फाबेटको लागि यस्ता बोण्ड जारी गर्नु सुरक्षित रहेको दाबी गरेका छन्। कम्पनीसँग पर्याप्त नगद भण्डार (१२६ अर्ब डलर) र स्थिर निष्कर्षण क्षमता (७३ अर्ब डलर वार्षिक फ्री क्यास फ्लो) छ। साथै, गूगलको डिजिटल विज्ञापन र सर्च क्षेत्रमा दबदबाले लगानीकर्ताहरूलाई दीर्घकालीन भरोसा दिएको छ।

