काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेले आफ्नो घोषणापत्रमा पूँजीबजारको प्रभावकारी नियमन, सुधार तथा विस्तार गरी लगानीका लगानी स्वपूँजी र दीर्घकालिन ऋण परिचालन गर्ने जनाएको छ ।
साथै सेयर लगानीकर्ताको हित संरक्षण गर्ने समेत नेकपा एमालेले आफ्नो घोषणापत्रमा समेटेको छ ।
त्यस्तै, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका सम्झौतित बचत परिचालन गर्ने संस्थाको प्रभावकारी नियमन गर्ने जनाएको छ ।
साथै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको उत्पादनशील क्षेत्रमा उपयोग गर्न व्यवसायिक कृषि, साना मझौला उद्योग व्यवसाय तथा सेयरबजारमा लगानीका अवसर सिर्जना गर्ने र विदेशी मुद्रा सञ्चितिको उच्च प्रतिफल प्राप्त हुनेगरी सुरक्षित र लाभप्रद लगानी गर्ने विषय घोषणापत्रमा समेटेको छ ।
त्यस्तै, हाइब्रिड एन्यूटी, व्लेण्डेड तथा भेञ्चर क्यापिटल, क्राउड फण्डिङ, प्राइभेट इक्विटी, डायस्पोरा वण्ड, हरित बण्ड, जलवायु वित्त लगायतका वैकल्पिक वित्तको प्रबन्ध गरी उच्च आर्थिक बृद्धिका लाािग पूँजी लगानीको आवश्यकता पुरा गर्ने जनाएको छ ।

