काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको चुनावी वाचापत्रमा पूँजी बजार र वित्तीय क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको छ। पार्टीले संस्थागत लगानीकर्ताको विस्तारदेखि बन्ड बजार विकास, गैरआवासीय नेपालीको सहभागिता, र डिजिटल पहुँच विस्तारसम्मका कार्यक्रम अघि सारेको छ।
वाचापत्रअनुसार पेन्सन फन्ड, बीमा कम्पनी तथा म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्तालाई सक्रिय लगानीका लागि प्रोत्साहन र सहजीकरण गरिनेछ। पूँजी बजारसम्बन्धी कर नीति स्थिर, पूर्वानुमेय र लगानीमैत्री बनाइ बजारमा दीर्घकालीन विश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, ऋण बजार तथा बन्ड बजारको विकासलाई जोड दिँदै सरकारी, स्थानीय तह र निजी क्षेत्रका बन्डलाई सक्रिय बनाइने योजना प्रस्तुत गरिएको छ। पूर्वाधार विकासका लागि इन्फ्रास्ट्रक्चर बन्ड प्रवर्द्धन गर्दै दीर्घकालीन परियोजनामा लगानी जुटाउन वैकल्पिक वित्तीय साधन विकास गरिने उल्लेख छ।
पार्टीले वर्षौंदेखि रोकिएको गैरआवासीय नेपालीलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानी गर्न सहज नीति तर्जुमा गर्ने जनाएको छ। साथै, वस्तु विनिमय (कमोडिटी) बजार यथाशीघ्र सञ्चालनमा ल्याइ त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गरिने बताइएको छ।
वाचापत्रमा डेरिभेटिभ बजार, विभिन्न किसिमका फन्ड तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकासमार्फत पूँजी बजारलाई आधुनिक र विविधीकृत बनाउने लक्ष्य राखिएको छ। साना लगानीकर्ताको हित संरक्षणका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने तथा सूचीकृत कम्पनीहरूको वित्तीय विवरण पारदर्शी बनाउन स्वचालित रिपोर्टिङ प्रणाली अनिवार्य गरिने जनाइएको छ।
रास्वपाले पूँजी बजारलाई काठमाण्डौ केन्द्रित नबनाई डिजिटल माध्यममार्फत देशभरका नागरिक र युवा पुस्ताको पहुँच विस्तार गर्ने रणनीति पनि अघि सारेको छ। पार्टीका अनुसार पूँजी बजारलाई अर्थतन्त्रको वास्तविक ऐना र पूँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गरिनेछ।

