काठमाण्डौ । नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्रमा पूँजी बजारको पारदर्शिता, साना लगानीकर्ताको संरक्षण तथा नियामक निकायहरूको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ। पार्टीले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र अस्वाभाविक चलखेल नियन्त्रण गर्न अत्याधुनिक निगरानी प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिज्ञापत्रअनुसार, साना लगानीकर्ताको हित सुरक्षित गर्न ‘लगानीकर्ता संरक्षण कोष’लाई थप प्रभावकारी बनाइनेछ। बजारमा विश्वास अभिवृद्धि गर्न र अनुचित गतिविधि नियन्त्रण गर्न प्रविधिमैत्री अनुगमन संयन्त्र स्थापना गरिने उल्लेख छ।
साना तथा मझौला उद्योग (एसएमई) हरूलाई पूँजी बजारमार्फत स्रोत जुटाउन सक्षम बनाउन छुट्टै बोर्ड/प्ल्याटफर्म विकास गरिने योजना पनि पार्टीले अघि सारेको छ। यसबाट उत्पादनशील क्षेत्रलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्दै रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नियामक संरचना सुदृढीकरणतर्फ, नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउने प्रतिबद्धता जनाइएको छ। साथै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय मापदण्डअनुसार स्तरोन्नति गरिने बताइएको छ।
यस्तै वैदैशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली र आम नागरिकलाई मोबाइल एपमार्फत पूँजी बजारमा सहजै जा्ड्ने नीति कार्यान्वयन गर्ने समेत काङ्ग्रेको प्रतिज्ञापत्रमा उल्लेख छ ।
विद्यालय तहदेखि नै सेयर बजार र वित्तीय व्यवस्थापन सम्बन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गरी धितोपत्र बजारलाई देशव्यापी विस्तार गर्ने समेत काङ्ग्रेले प्रतिवद्धता जनाएको छ ।

