काठमाण्डौ । एनसेलले पोखरास्थित आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ। सिर्जना चोक, पोखरामा रहेको उक्त सेन्टर जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट क्षतिग्रस्त बनेपछि केही समयदेखि बन्द थियो।
मर्मत–सम्भार पूरा भएपछि बिहीबार आयोजित एक कार्यक्रममार्फत सेन्टरको पुनः उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरे। सेन्टर बन्द रहँदा कम्पनीले अस्थायी रूपमा एक तल्लामाथि रहेको कार्यालयबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो।
उद्घाटन समारोहमा बोल्दै दाहालले पोखरा सेन्टर बन्द हुँदा ग्राहकलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै अब पुनः सञ्चालनसँगै उच्चस्तरीय सेवा अनुभव उपलब्ध गराउन पाउँदा खुशी व्यक्त गरिन्। ग्राहकलाई एकै स्थानबाट विविध सेवा उपलब्ध गराउने र विश्वस्तरीय सेवा अनुभव सुनिश्चित गर्ने उद्देश्यसहित सेन्टर पुनः सञ्चालनमा ल्याइएको उनले बताइन्।
यस सेन्टरबाट ग्राहकहरूले एनसेलका सम्पूर्ण ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्। सेवाअन्तर्गत सिम खरिद, सेवा तथा सुविधाबारे जानकारी, इन्टरनेट सेटिङ, कर्पोरेट सेवा, फोरजी तथा ई–सिम अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयूजी नम्बर व्यवस्थापन, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल भुक्तानी, ब्यालेन्स रिचार्ज तथा ट्रान्सफर लगायतका सुविधाहरू उपलब्ध छन्।
पोखरा एनसेल सेन्टरको पुनः सञ्चालनसँगै स्थानीय स्तरमै विश्वस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता थप सुदृढ भएको छ। ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउने उद्देश्यले एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ।

