काठमाण्डौ । ईरानको सरकारी मिडियाले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युको पुष्टि गरेको छ। आज बिहान ईरानी राज्य टिभी र सरकारी समाचार एजेन्सीहरूले खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणमा मारिएका घोषणा गरेका हुन् ।
ईरान सरकारले उनको निधनपछि ४० दिनको सार्वजनिक शोक र सात दिनको बिदा घोषणा गरेको छ। खामेनीलाई ‘शहीद’ को रुपमा सम्मान गरिएको छ।
यो आक्रमण संयुक्त अमेरिकी र इजरायली सेनाहरूले इरानभित्रका विभिन्न लक्ष्यहरूमा हानेको एक ठूलो सैन्य अपरेशनको हिस्सा भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा खामेनीको मृत्युको घोषणा गर्दै उनलाई ‘इतिहासका सबभन्दा क्रूर व्यक्तिहरूमध्येका एक’ भएको बताएका छन्।
ईरानी पत्रिका प्रेस टिभीका अनुसार, खामेनी तेहरानमा आफ्नै कार्यालयमा बसिरहेको अवस्थामा आक्रमणमा परेका थिए। उक्त घटनापछि राजधानी तेहरानसहित देशभर तनाव फैलिएको छ।
यस घटनाले मध्यपूर्वीय राजनीति र क्षेत्रीय सुरक्षा सन्तुलनमा ठूलो प्रभाव पार्ने आशंका गरिएको छ। खामेनी १९८९ देखि ईरानको सर्वोच्च नेता थिए र उनको नेतृत्वले देशको विदेशी नीति तथा सैन्य शक्ति दुवैमा महत्वपूर्ण भूमिका खेलेको थियो।

