काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गर्न दुवै संस्थाहरुले विेशष साधारण सभा डाकेका छन् । यी संस्थाहरुको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले बेग्ला–बेग्लै विशेष साधारण सभा आह्वान गरेका हुन् ।
दुवै संस्थाको विशेष सभा आगामी वैशाख १३ गते आयोजना हुनेछ । उक्त सभाहरुमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने सञ्चालक समितिहरुको प्रस्ताव पारित गरिनेछ । सभामा मर्जरका विषयमा अहिलेसम्म भएका सबै निर्णय र प्रगति विवरणहरु पारित गरिनेछ ।
यस्तै प्राप्ति कार्य पश्चात परिवर्तन हुने सेयर तथा चुक्तापूँजी वृद्धि गर्ने र सेयर समूह स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
गत बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो । उक्त बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षद्वय रामु पौडेल,विश्वम्भर न्यौपाने र सम्पूर्ण सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
संस्थाहरुले छुट्टा छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो सेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकिकृत कार्य गर्नेछ ।
बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न यस साझेदारीले सहयोग हुने अपेक्षा गरिएको छ ।
प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्तिले उल्लेखिय भूमिका खेल्ने विश्वास गरिएको छ । प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुने दुवै संस्थाले विश्वास गरेका छन् ।