शनिबार, श्रावण २,२०८३ 08:37:45
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:37:45
Bizshala
Global IME Bank Limited

एमालेको 'आन्दोलन फोबिया'ले हल्लियो बजारको मनोविज्ञान, 'सबै ठीकठाक छ, भोलि नै रिबाउन्ड हुनसक्छ!'

एमालेको 'आन्दोलन फोबिया'ले हल्लियो बजारको मनोविज्ञान, 'सबै ठीकठाक छ, भोलि नै रिबाउन्ड हुनसक्छ!'
New Office

काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारलाई भव्य स्वागत गर्ने आम अपेक्षाविपरीत सेयर बजारले साताको पहिलो कारोबार दिन आइतबार सबैलाई चक्मा दिंदै पहिरोको बाटो रोजेको छ । आज सेयर बजार मापन गर्ने परिसूचक-इण्डेक्स) नेप्से ७१ अंकले घटेर २८७९.११ को विन्दूमा सीमित हुन पुगेको छ ।  

पर्याप्त र गम्भीर कारणबिना नै आजको बजार घटेको देखिन्छ । बजारमा यसरी अनपेक्षित ढंगले पहिरो खस्नु पछाडि विश्लेषक तथा जानकारहरुले विभिन्न कारणहरु औंल्याएका छन् । तीमध्ये सबैभन्दा ठूलो कारण चाहिँ, नयाँ सरकार गठनलगत्तै उत्साहित बनेका लगानीकर्तामा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध गरेको आन्दोलनले जगाइदिएको मनोवैज्ञानिक त्रास हो । 

सबै ठीकठाक हुँदैछ भन्दा भन्दै फेरि राजनीतिक अस्थिरताको दुष्चक्रमा मुलुक फस्ने हो कि भन्ने मनोविज्ञान लगानीकर्तामा हाबी भइदिंदा बजारले अपेक्षाविपरीत प्रतिक्रिया जनाएको हो । विज्ञ तथा जानकारहरुले बजारको यो प्रवृतिलाई 'अस्थायी' करार गर्दै निकट भविष्यमै नेप्से फेरि घटेकै गतिले रिबाउण्ड हुनसक्ने विश्लेषण पनि गरेका छन् ।

बालेन नेतृत्वको सरकार गठनपछिको पहिलो राजनीतिक आन्दोलन भएका कारण लगानीकर्ताहरु डराउँदा बजार ठूलो अंकले घट्न पुगेको स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले दाबी गरे । 'सबै ठीकठाक हुन्छ भनेर उत्साहित भएका लगानीकर्ताका अगाडि राजनीतिक माहौल बिग्रिएर देश फेरि नयाँ तनावमा फस्ने हो कि भन्ने विषयले डर पैदा गरेको देखिन्छ । त्यही कारण आजको बजार अपेक्षाभन्दा बढी नै घट्न पुग्यो ।' उनले भने-'तर आज जसरी घट्यो, त्यो भन्दा तीव्र रफ्तारमा भोलि नै बजार माथि उकालो जान पनि सक्छ । सानोतिनो कारणले उतारचढाव भोगिरहने हाम्रोजस्तो बजारमा घट्न र बढ्नलाई ठूलो कारण नै चाहिँदैन ।'  

उनको भनाईमा लगानीकर्ताहरु धेरै डराइरहनुपर्ने अवस्था भने छैन । 'पोलिसीमा कुनै नकारात्मक कुरा आएको भए मात्र अलिक बढी डराउने हो, सानातिना राजनीतिक गतिविधि वा कारणबाटै त्रसित हुनुपर्ने अवस्था छैन ।' उनले भने-'एमालेको आन्दोलन पनि धेरै उग्र हुने देखिएन । बजारका लागि आवश्यक अरु सबै कुरा ठीकठाक छ । त्यसो हुँदा बजार अब उकालो बाटो नलागी सुखै छैन नि !'

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बजारमा फेरी राजनीतिक अन्योलता सिर्जना भएकाले आज बजारमा ठूलो गिरावट आएको बताए ।  

‘नयाँ सरकार गठन भएको छ, देशले नयाँ अर्थमन्त्रीमा स्वर्णिम वाग्लेलाई पाएको छ, तर हिजोमात्रै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयले राजनीतिक क्षेत्रमा फेरि एउटा नयाँ अन्योलता सिर्जना गरेको छ, जुन बजारको लागि नकारात्मक पक्ष हो’ उनले भने, ‘लगानीकर्ताहरुमा अब फेरि आन्दोलन चर्किएला भन्ने डर पैदा भएको छ, यसैकारण केही लगानीर्ताले थोरै भएपनि नाफा बुक गर्दा सप्लाई बढेको हुनसक्छ ।’

साथै सेयरबजारलाई यस्ता राजनीतिक अस्थिरता वा अन्योलताले प्रत्यक्ष प्रभाव पार्ने हुँदा आज बजार प्रभावित भएको उनले बताए । ‘नेकपा एमालेका अध्यक्ष पक्राउ परेपछि अब फेरि आन्दोलनले ठूलो रुप नलेला भन्न सकिन्न यसकारण लगानीकर्ताहरुमा फेरि अन्योलता सिर्जना भएको छ’ उनले भने, ‘तर बजार यसरी घट्दा लगानीकर्तालाई सेयर किन्ने अवसर पनि बनेको छ ।’

आज सर्वाधिक कमाउने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशलते बढेर २२१४.४० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ्ग हाइड्रो र होटल फरेस्ट इनको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

के-के भयो बजारमा ?

आज नेप्सेमा सूचीकृत ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज नेप्सेमा रहेका सबै समूहमा रातो पोतिएको छ । सर्वाधिक घट्ने समूहमा फाइनान्स समूह रहेको छ । यो समूहले आज ३.३७ प्रतिशतको पहिरो व्यहोर्यो ।

त्यस्तै, बैंकिङ समूहको २.७८ प्रतिशत, विकास बैंक समूहको २.८६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२३ प्रतिशत, हाइड्रो समूहको २.२१ प्रतिशत, लगानी समूहको २.९८ प्रतिशत, जीवन बीमा समूहको २.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.०७ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.११ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.२८ प्रतिशत, अन्य समूहको २.५२ प्रतिशत र व्यापार समूह २.४८ प्रतिशतले घटे ।

कमाउने र गुमाउने कम्पनी

आज सर्वाधिक कमाउने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशलते बढेर २२१४.४० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ्ग हाइड्रो र होटल फरेस्ट इनको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

धेरै कारोबार गर्ने कम्पनी

यो दिन धेरै कारोबार गर्ने ५ वटा टप कम्पनीको सूचिमा ४ स्थान जलविद्युत कम्पनीहरुले नै कब्जा गरेका छन् ।  

सबैभन्दा बढी रिडी पावर कम्पनी लिमीटेडले ७७ करोड बढीको सेयर कारोबार गरेको छ ।  

दोश्रोमा रहेको ङादी पावरले ५२ करोड २८ लाख, तेश्रोमा सोलु हाइड्रोपावरले ४९ करोड हाराहारी, शिवम् सिमेन्टले ४८ करोड हाराहारी तथा नेशनल हाइड्रोपावर कम्पनीले ४६ करोड रुपैयाँको कारोबार गर्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.