काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज दुई समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह आज १.९४ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.७६ प्रतिशत, विकास बैंक समूह ०.९० प्रतिशत, फाइनान्स समूह १.१२ प्रतिशत, होटल तथा पर्यटन समूह १ प्रतिशत, हाइड्रोपावर समूह ०.७५ प्रतिशत, लगानी समूह ०.५६ प्रतिशत, जीवन बीमा समूह ०.५२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.७६ प्रतिशत र व्यापार समूह ०.७४ प्रतिशतले बढेको छ ।
त्यस्तै, म्युचुअल फण्ड समूह ०.०७ प्रतिशत र अन्य समूह भने ०.५५ प्रतिशतले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार उपेन्द्र पाठकले बजारमा लगानीकर्ताहरुको अनुशासन कायम नहुँदा मार्केट सस्टेन हुन नसकेको बताए । ‘बजारलाई विशेषगरी लगानीकर्ताको अनुशासन चाहिन्छ तर पछिल्लो समय लगानीकर्ताहरु पनि बढी महँगोमा सेयर किन्ने र सस्तोमा भएपनि बेच्ने वा होल्ड गर्न धैर्यता राख्न नसक्ने प्रवृत्तिले बजार दिगो हुन सकेको छैन’ उनले भने, ‘चुनावपछि जसरी बजार अढाई तिनसय बढ्यो त्यसपछि केही ट्रेडरहरुले सेयर अझैसम्म फालिरहेका छन्, यसैको करेक्सन फेज पनि मान्न सकिन्छ ।’
साथै सरकारले सार्वजनिक गरेको कार्ययोजनामा उल्लेख भएको बुँदा नं. ४५ ले तरंगित बनाएको उनको भनाई छ । ‘बजारले एउटा निहँु खोजिरहेको थियो त्यसैमाथि सरकारले आफ्नो कार्ययोजनामा सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले लगानीकर्तालाई तरंगित बनाएको छ’ उनले भने, ‘लगानीकर्ताहरु यो विषयमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर बजारमा अब पैसा घट्न सक्ने अनुमान लगाउँदै केही लगानीकर्ता त्रसित भएका छन् ।’
साथै अब बजारले विस्तारै लय लिने र चाँडै कुदेको बजार दिगो नहुने उनले प्रष्ट पारे ।
सर्वाधिक कमाउने कम्पनी
आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्सको सेयरमा १० प्रतिशतले बृद्धि भई २६७९.३० रुपैयाँ पुगेको छ ।
त्यस्तै, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी, रिज लाइन इनर्जी र होटल फरेस्ट इनको सेयरभाउ १० प्रतिशतका दरले बढेको छ ।
यसका साथै सूर्यकुण्ड हाइड्रोको ९.९७ प्रतिशत, ८.५% एसबीएल डिबेञ्चरको ३.९५ प्रतिशत, युनिक नेपाल लघुवित्तको ३.८७ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ३.७३ प्रतिशत र पोखरा फाइनान्सको ४७ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । यो कम्पनीको सेयरभाउ ८.९६ प्रतिशतले घटेर ९५४.४० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एनएआइसी एशिया ब्यालेन्स्ड फण्डको ५.७१ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ४ प्रतिशत, रिडि पावरको ३.२१ प्रतिशत, धौलागिरी लघुवित्तको २.८० प्रतिशत, सिटिजन्स बैंकको २.६७ प्रतिशत, नेशनल हाइड्रोपावरको २.६६ प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को २.५५ प्रतिशत, पन्चकन्या माई हाइड्रोपावरको २.४४ प्रतिशत र मोलुङ हाइड्रोपावरको २.१७ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।