काठमाण्डौ । एशियाली बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । अमेरिका र इरानबीचको युद्धविराम कमजोर अवस्थामा पुगेका कारण कच्चा तेलको मूल्य फेरि बढेको हो ।
बिहीबार बिहान अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य ३.३ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ९७.९० अमेरिकी डलर पुगेको छ। त्यसैगरी, डब्लुटीआई क्रुडको मूल्य पनि ३.२ प्रतिशतले बढेर ९७.५५ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ।
दुई हप्ते सशर्त युद्धविराम जारी रहे पनि इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेको छ। यस घटनापछि इरानले आक्रमण जारी रहेमा उसले पनि प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ ।
यसअघि, युद्धविराम घोषणा भएपछि बुधबार तेलको मूल्यमा गिरावट आएको थियो। युद्धविराम सम्झौतामा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरू मार्ग पुनः सञ्चालन गर्ने विषय पनि समावेश गरिएको छ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो तनावले आगामी दिनहरूमा ऊर्जा बजारमा थप अस्थिरता ल्याउन सक्ने सम्भावना रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।