काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको चैत २६ गते बसेको संचालक समितिको बैठकले १३औं सभा वैशाख २१ गते दिनेश स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
सभाले संस्थाको पूँजीबृद्धि योजनाको विशेष प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक र सर्वसाधारणतर्फको सेयर संरचना ७०ः३० अनुपात रहेकोमा संस्थापक सेयरलाई कुल चुक्तापूँजीको १० प्रतिशत सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत, कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आव २०८१ ८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।
त्यस्तै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना संचालकको निर्वाचन मनोनयन गर्ने पनि सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ संस्थाले वैशाख ७ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ वैशाख ६ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

