काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीको पोखरामा भाखा नाघेको कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
धादिङको धुनिबेँसी नगरपालिका–६, धार्केमा केन्द्रीय कार्यालय रहेको संस्थाले मंसिर ८ गते पोखरा इलाकाअन्तर्गतका ११ शाखाका शाखा प्रमुखहरूको सहभागितामा उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आ–आफ्नो शाखाको कार्यप्रगति प्रस्तुत गरेका थिए। सो अवसरमा भाखा नाघेको कर्जाको व्यवस्थापन तथा नियन्त्रण, निष्क्रिय कर्जा न्यूनीकरण, प्रभावकारी कर्जा विश्लेषण र असल परियोजना छनोटलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
तालिममा शाखा प्रमुखहरूको भूमिका तथा जिम्मेवारी, प्रभावकारी ग्राहक सम्बन्ध, अन्तरवैयक्तिक सम्बन्ध र कर्जा व्यवस्थापनका व्यावहारिक पक्षबारे समेत छलफल गरिएको थियो। साथै, शाखाहरूको कार्यसम्पादनमा देखिएका समस्या तथा चुनौतीहरूको समीक्षा गर्दै सुधारका सम्भावित उपायबारे अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा संस्थाका वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुर्मी, प्रमुख व्यवस्थापक बाबुराम सुवेदी, वरिष्ठ अधिकृत हरिबहादुर पण्डित र पोखरा इलाका प्रमुख बलराम पौडेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
संस्थाका सामान्य सेवा तथा कार्य सञ्चालन विभाग प्रमुख हरिबहादुर पण्डितले सहभागीहरूलाई स्वागत गरेका थिए भने जनशक्ति व्यवस्थापन विभाग प्रमुख तथा कम्पनी सचिव बाबुराम सुवेदीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।
तालिमको समापनका अवसरमा देवचुली शाखाका प्रमुख रविबहादुर पण्डित र माडी शाखाका प्रमुख रामकृष्ण खतिवडाले सहभागीहरूको तर्फबाट तालिमको मूल्यांकन प्रस्तुत गरेका थिए। कार्यक्रमको समापन वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुर्मीले गरेका थिए भने सञ्चालन पोखरा इलाका प्रमुख बलराम पौडेलले गरेका थिए।
नाडेपको कर्जा लगानी ६ अर्ब ५१ करोड
संस्थाका अनुसार २०८३ कात्तिक मसान्तसम्म नाडेप लघुवित्तको कुल कर्जा लगानी ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा संस्थाले ग्राहक सदस्यहरूबाट २ अर्ब ४४ करोड रुपैयाँ बचत परिचालन गरेको छ।
हाल संस्थाले देशका ५६ जिल्लामा ८८ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। संस्थाको सेवा करिब ७६ हजार २७९ घरपरिवारसम्म विस्तार भएको छ।
विसं २०५२ सालदेखि लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाले वित्तीय पहुँच विस्तारसँगै कर्जा व्यवस्थापन, संस्थागत सुशासन र शाखाहरूको कार्यक्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।