काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको २७७औँ बैठकले पुस २ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार साधारणसभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान १० बजेदेखि सुरु हुनेछ।
सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको कुल ८ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेस गर्नेछ।
बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकका अनुसार हाल कायम चुक्तापूँजी १ अर्ब १९ करोड ५१ लाख रुपैयाँ रहेको छ। यस आधारमा बैंकले करिब ५ करोड ९८ लाख रुपैयाँबराबरको बोनस सेयर र ३ करोड ५९ लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
साधारणसभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्तावसमेत प्रस्तुत हुनेछ।
यसैगरी, सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा समेत निर्णय गर्नेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने व्यवस्थासमेत गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार तोकिएको बुक क्लोज मितिभन्दा अघिसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले साधारणसभासम्बन्धी सूचना तथा प्रस्तावहरू सार्वजनिक गर्दै सेयरधनीहरूलाई सभामा सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।