काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ग्रोथ फण्डको इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डले प्रतिइकाई १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो।
फण्डको कुल आकार १० करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंक र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम ९०० इकाई अर्थात् ९ हजार रुपैयाँदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।
इकाईमा मंसिर ९ देखि १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको सी–आस्बा प्रणाली वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
योजना व्यवस्थापकले लगानी गर्नुअघि फण्डको विवरणपत्र अध्ययन गरी आफ्नै विवेकमा निर्णय लिन लगानीकर्तालाई आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।