काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित ३३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार आगामी पुस १० गते नभई मंसिर २९ गते मंगलबार वार्षिक साधारणसभा आयोजना हुने भएको हो।
सभामा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
बैंकको साधारणसभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक आर्थिक विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिनेछ।
साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गर्नेछ।
यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
सभामा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी जानकारी गराउने एजेन्डासमेत रहेको छ।
विशेष प्रस्तावअन्तर्गत बैंकको प्रबन्धपत्रका विभिन्न दफा संशोधन गर्ने प्रस्ताव पेस हुनेछ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र कम्पनी ऐनका व्यवस्थाअनुसार आवश्यक संशोधन गर्न लागिएको बैंकले जनाएको छ।
त्यस्तै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत साधारणसभामा लैजाने भएको छ।
लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १७ गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारण सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।