काठमाण्डौ । Strait of Hormuz क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र रूपमा बढेको छ। डोनाल्ड ट्रम्प को आदेशपछि अमेरिकाले जलडमरूमध्यलाई नियन्त्रणमा लिन ठूलो सैन्य तैनाथी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टअनुसार अमेरिकाले एफ–३५बी लाइटनिङ–२ स्टेल्थ लडाकु विमान, एमभी–२२ ओस्प्रे, कम्तीमा १५ युद्धपोत, विध्वंसक जहाज तथा सोनारयुक्त माइनस्वीपरहरू परिचालन गरेको छ। यससँगै हजारौँ मरीन सैनिकलाई पनि क्षेत्रमा खटाइएको छ। अमेरिकाको लक्ष्य होर्मुज जलडमरूमध्यमा पूर्ण नियन्त्रण कायम गर्नु रहेको बताइएको छ।
५ हजार मरीन कमाण्डो तैनाथ
अमेरिकी सेनाले एम्फिबियस असल्ट शिप यूएसएस ट्रिपोलीमार्फत करिब २७०० मरीन सैनिक क्षेत्रमै पुर्याएको छ भने अन्य युद्धपोतहरूसहित कुल करिब ४७०० देखि ५००० मरीन कमाण्डो तैनाथ रहेको जनाइएको छ। ती सैनिकहरू आवश्यक परे टापु तथा तटीय क्षेत्रमा हवाई माध्यमबाट आक्रमण गर्न सक्षम छन्।
यूएसएस ट्रिपोलीमा २० भन्दा बढी एफ–३५बी विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको बताइएको छ, जसले राति समेत सैन्य अपरेशन सञ्चालन गर्न सक्छ।
माइन्स हटाउने विशेष अपरेशन
होर्मुज क्षेत्रमा सम्भावित बारूदी सुरुङ (माइन) हटाउन विशेष उपकरणसहितका जहाजहरू परिचालन गरिएको छ। AQS-20 सोनार प्रणाली जडित लिटोरल कम्ब्याट शिपहरू, पानीमुनी ड्रोन र MH-60 Seahawk हेलिकोप्टरमार्फत समुद्री खोज तथा सफाइ अभियान सञ्चालन भइरहेको छ।
यदि इरानले राखेका माइनहरू पत्ता लागेमा त्यो इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (IRGC) का लागि ठूलो धक्का हुने विश्लेषण गरिएको छ।
इरान–अमेरिका तनाव चर्किने संकेत
यसैबीच, इरानले अमेरिकी जहाजहरूलाई चेतावनी दिँदै जलडमरूमध्यमा १० माइलभन्दा नजिक नआउन आग्रह गरेको छ। अन्यथा गोली चलाइने चेतावनी दिइएको छ।
अमेरिकाले भने हालैका हवाई हमलामा इरानको नौसैनिक शक्ति ठूलो मात्रामा ध्वस्त भएको दाबी गरेको छ। यद्यपि इरानसँग अझै पनि सयौँ तीव्र गतिका आक्रमणकारी स्पीडबोटहरू रहेको बताइएको छ।
युद्धविराम अत्यन्तै नाजुक अवस्थामा
विश्लेषकहरूका अनुसार यदि इरानले अमेरिकी युद्धपोतमाथि आक्रमण सुरु गरेमा हालको नाजुक युद्धविराम तत्कालै भंग हुनसक्छ र पूर्ण युद्धमा परिणत हुन सक्ने जोखिम उच्च छ।
होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग हो। यहाँ अवरोध सिर्जना भएमा इरानको तेल–ग्यास निर्यात पूर्ण रूपमा प्रभावित भई उसको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने देखिन्छ।
-Agencies

