इस्लामाबाद । अमेरिका र ईरानबीच बढ्दो तनावका बीच पाकिस्तानले दोस्रो चरणको शान्ति वार्ता आयोजना गर्ने पहल अघि बढाएको छ। इस्लामाबादस्थित कूटनीतिक स्रोतहरूका अनुसार पाकिस्तानले दुवै पक्षलाई पुनः वार्तामा बसाउन सक्रिय प्रयास गरिरहेको छ र आगामी दुई दिनभित्र बैठक हुन सक्ने सम्भावना रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि ईरानसँग संवादका लागि तयार रहेको संकेत दिएका छन्। उनले “अर्को पक्षबाट हामीलाई सम्पर्क गरिएको छ, उनीहरू सम्झौताका लागि इच्छुक छन्” भन्दै वार्ताप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।
पाकिस्तानी अधिकारीहरूका अनुसार दोस्रो चरणको वार्ता इस्लामाबादमै आयोजना गर्ने प्रस्ताव गरिएको छ। दुवै पक्षले वैकल्पिक स्थानको माग नगरेमा उक्त प्रस्ताव कार्यान्वयनमा जाने सम्भावना रहेको बताइएको छ। यद्यपि पहिलो चरणको वार्ताबाट कुनै ठोस सहमति ननिस्किए पनि यसलाई निरन्तर कूटनीतिक प्रक्रियाको रूपमा लिइएको छ।
यसअघि अप्रिल ११ मा इस्लामाबादमा भएको पहिलो चरणको प्रत्यक्ष वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र ईरानी संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफ सहभागी भएका थिए। करिब ४७ वर्षपछि दुई देशबीच भएको यो प्रत्यक्ष संवादलाई महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।
यसैबीच पाकिस्तानले अप्रिल ८ मा प्रस्ताव गरेको दुई साताको युद्धविराम अवधि अप्रिल २१ मा सकिँदै छ। यही समयसीमाभित्र दोस्रो चरणको वार्ता सम्पन्न गराउने प्रयास भइरहेको जनाइएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, उपप्रधानमन्त्री इशाक दार तथा सेना प्रमुख आसिम मुनीर यस कूटनीतिक पहलमा सक्रिय रहेको बताइएको छ। प्रधानमन्त्री शरीफको साउदी अरब र टर्की भ्रमणले भने वार्ताको मिति र स्वरूपमा केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
दुवै पक्षबीच वार्ता पुनः सुरु गर्ने विषयमा निरन्तर सम्पर्क भइरहेको र तनाव न्यूनीकरणका लागि कूटनीतिक प्रयास तीव्र पारिएको स्रोतहरूले बताएका छन्।

