काठमाण्डौ । इरानका विदेश मन्त्री अब्बास अरागची रूसको भ्रमणमा पुगेका छन्। उनले रूसको सेन्ट पिटर्सबर्गमा आयोजित भेटघाटका क्रममा आफूहरूबीच पछिल्लो समय युद्धका कारण प्रत्यक्ष भेट हुन नसके पनि निरन्तर संवाद भइरहेको बताएका छन्।
अरागचीले रूससँग वर्तमान युद्धसँग सम्बन्धित अवस्थाबारे विस्तृत छलफल गर्दै पछिल्ला घटनाक्रमको समीक्षा गरिने जानकारी दिए। ‘हामीले आफ्ना रूसी साथीहरूसँग युद्धको अवस्थाबारे छलफल गर्नेछौं र पछिल्लो परिस्थितिको मूल्याङ्कन गर्नेछौं। आवश्यक समन्वय गर्नु स्वाभाविक हो,’ उनले भने।
यस क्रममा उनले पाकिस्तानको भूमिकालाई पनि उल्लेख गर्दै पाकिस्तान ले इरान–अमेरिका वार्तामा महत्वपूर्ण मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बताए। ‘हामीले पाकिस्तानमा आफ्ना साथीहरूसँग सकारात्मक र फलदायी छलफल गरेका छौं, जुन अत्यन्त सफल भ्रमण रह्यो,’ उनले थपे।
उनले हालसम्म भएका प्रगतिहरूको समीक्षा गरिएको र आगामी दिनमा वार्ता कसरी र कुन सर्तहरूमा अघि बढाउने भन्ने विषयमा पनि विचार–विमर्श भएको जानकारी दिए।
यसअघि अरागचीले ओमान र पाकिस्तानको भ्रमण गरी मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गरेका थिए।

